# ४०. येशू क्रुसमा टाँगिनुभयो ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-01.jpg) येशूको गिल्ला गरेपछि, सिपाहीहरूले उहाँलाई क्रूसमा चढाउनको निम्ति त्यहाँबाट अन्तै लगे । तिनीहरूले उहाँलाई क्रूस बोक्न लगाए जसमाथि उहाँलाई टाँगिने थियो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-02.jpg) ती सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए र उहाँका हात र पाउलाई क्रूसमा राखी त्यसमाथि किला ठोकिदिए । तर येशूले भन्‍नुभयो, “पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस् , किनकि यिनीहरू के गर्दैछन्, सो जान्दैनन् ।” पिलातसले ती सिपाहीहरूलाई एउटा पाटीमा “यहूदीहरूका राजा” लेखे र त्यसलाई क्रूसमा येशूको शिरमाथि राख्‍ने हुकुम दिए । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-03.jpg) सिपाहीहरूले येशूको वस्‍त्रमा चिठ्ठा हाले । तिनीहरूले यसो गर्दा त्यो अगमवाणी पूरा भयो, जसले भनेको थियो, “तिनीहरूले मेरा वस्‍त्रहरू आफैँमा बाँडे, र मेरो कपडाको निम्ति चिठ्ठा हाले ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-04.jpg) येशूलाई दुई लुटेराहरूको बीचमा क्रूसमा चढाइएको थियो । तीमध्ये एकजनाले येशूलाई गिल्ला गर्‍यो, तर अर्कोचाहिँले भन्यो, “के तिमीलाई परमेश्‍वरको कुनै डर छैन ? हामी दोषी छौँ, तर यी मानिस त निर्दोष छन् ।” अनि उसले येशूलाई भन्यो, “कृपया मलाई तपाईंको राज्यमा सम्झनुहोस् ।” येशूले जवाफ दिनुभयो, “आजै, तिमी मसँग स्वर्गमा हुनेछौ ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-05.jpg) यहूदी अगुवा र भीडमा भएका अरू मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँलाई भने, “यदि तिमी परमेश्‍वरका पुत्र हौँ भने, क्रूसबाट तल ओर्लिआऊ अनि आफैँलाई बचाऊ। अनि हामि तिमिलाई विश्‍वास गर्छौ।" ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-06.jpg) अनि समस्त इलाकाभरि अन्धकार छायो, यद्यपि त्यो मध्यदिनको समय थियो । त्यो अन्धकार दिउसको मध्यान्ह सम्म रहिरह्यो र तिन घण्टासम्‍म अन्धकार भइरहयो । ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-07.jpg) त्यसपछि येशू चर्को स्वरले कराउनुभयो, “अब सिद्धियो। हे पिता म मेरो आत्‍मा तपाईको हातमा सुम्‍पन्‍छु।" यति भनेर उहाँले आफ्‍नो शिर झुकाउनु भयो र आफ्‍नो प्राण त्‍यागिदिनुभयो। जब उहाँले आफ्‍नो प्राण त्‍याग्‍नु भयो, त्‍यहाँ भुकम्‍प आयो। अनि मन्‍दिरमा परमेश्‍वरको उपस्‍थितिबाट मानिसलाई अलग गर्ने पर्दा टुप्‍पादेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो। ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-08.jpg) उहाँको मृत्युद्वारा, येशूले मानिसहरूका निम्ति परमेश्‍वरकहाँ आउने बाटो खोलिदिनुभयो । जब येशूलाई पहरा दिइरहेको त्यस सिपाहीले यी सबै कुराहरू भएको देख्यो, उसले भन्यो, “निश्‍चय नै, यी मानिस निर्दोष थिए । उनी परमेश्‍वरका पुत्र थिए ।” ![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-40-09.jpg) अनि योसेफ र निकोदेमस, येशूलाई मसिह भनी विश्‍वास गरेका दुईजना यहूदी अगुवाहरूले पिलातससँग येशूको शरीर मागे । तिनीहरूले उहाँको शरीरलाई कपडामा बेरे र त्यसलाई चट्टानमा कोपेर बनाइएको चिहानभित्र राखे । त्यसपछि तिनीहरूले चिहानको मुख थुन्‍नलाई त्यसको अगाडि एउटा ठूलो ढुङ्गा गुडाएर राखिदिए । __बाइबलको कथा: मत्ती २७:२७-६१; मर्कूस १५:१६-४७; लूका २३:२६-५६; यूहन्‍ना १९:१७-४२ बाट__