फारोले इस्राएलीहरूलाई छोड्न इन्कार गरिनै रहे, त्यसैले परमेश्वरले मिश्रदेशमा डरलाग्दा दशवटा विपत्तिहरू पठाइदिनुभयो । परमेश्वरले यी विपत्तिहरूद्वारा फारोलाई उहाँ फारो र सबै मिश्री देवहरूभन्दा शक्तिशाली हुनुहुन्छ भनी देखाउनुभयो ।
परमेश्वरले सारा मिश्रदेशभरि नै भ्यागुताहरू पठाउनुभयो । फारोले मोशालाई भ्यागुताहरू हटाइदिन विन्ती गरे । तर सबै भ्यागुताहरू मरेपछि फारोले आफ्नो हृदय फेरि कठोर पारे र इस्राएलीहरूलाई जान दिएनन् ।
त्यसैले परमेश्वरले भुसुनाहरूको महामारी पठाउनुभयो । अनि त्यसपछि उहाँले झिंगाको हुलैहुल पठाउनुभयो । फारोले मोशा र हारूनलाई बोलाए र यदि उनीहरूले त्यस महामारीलाई रोकेको खण्डमा इस्राएलीहरू जान दिने बताए । जब मोशाले प्रार्थना गरे, परमेश्वरले सारा झिंगाहरू मिश्रबाट हटाइदिनुभयो । तर फारोले फेरि आफ्नो हृदयलाई कठोर तुल्याए र इस्राएलीहरूलाई जान दिएनन् ।
त्यसपछि, परमेश्वरले मिश्रीहरूका सबै गाईवस्तुहरूमा महामारी निम्त्याउनुभयो र तिनीहरू सबै मरे । तर फारोको हृदय कठोर भयो र उनले इस्राएलीहरूलाई जान दिएनन् ।
अनि परमेश्वरले मोशालाई फारोको अगाडि हावामा खरानी फाल्न भन्नुभयो । जब उनले त्यसो गरे, मिश्रीहरूका शरीरमा कष्टकर खटिराहरू देखा परे, तर इस्राएलीहरूलाई केही भएन । परमेश्वरले फारोको हृदय कठोर तुल्याइदिनुभयो, र फारोले इस्राएलीहरूलाई जान दिएनन् ।
यसो भइसकेपछि परमेश्वरले असिना वर्षाउनुभयो जसले मिश्रदेशका धेरैजसो अन्नबाली नष्ट पार्यो र बाहिर निस्कने जो कोही पनि मारिए । फारोले मोशा र हारूनलाई बोलाए र भने, “मैले पाप गरेको छु । तिमीहरू यहाँबाट जान सक्छौ ।” अनि मोशाले प्रार्थना गरे र आकाशबाट असिना पर्न बन्द भयो ।
अनि परमेश्वरले अन्धकारलाई पठाउनुभयो जुन तीन दिनसम्म रहिरह्यो । त्यो यति अन्धकार थियो कि मिश्रीहरू आफ्ना घर छाेडेर बाहिर निस्किन सक्दैन थिए । तर इस्राएलीहरू बसेको ठाउँमा चाहिँ उज्यालो थियो ।
यी नौ वटा विपत्तिहरू भइसकेतापनि फारोले अझैपनि इस्राएलीहरूलाई मिश्रदेशबाट जान दिएनन् । फारोले परमेश्वरको कुरा नसुनेको कारणले अब उहाँले एउटा अन्तिम विपत्ति ल्याउने योजना गर्नुभयो । यस विपत्तिले चाहिँ फारोको मन परिवर्तन गर्यो ।